काठमाडौं, १६ वैशाख । वैदेशिक लगानी भित्र्याएर मुलुकमा रोजगारी श्रृजना गर्न राज्यले विभिन्न ऐन कानुनहरु तर्जुमा गरेको छ । तर, सरकारको निकाय अध्यागमन विभागको एउटा निर्णयले नेपालमा भित्रिएको एउटा विदेशी लगानी नै धरापमा परेको छ । अध्यागमन विभागको लापरबाहीपुर्ण निर्णयले एउटा उद्योग पूर्ण त बन्द हुने अवस्थामा पुगेको पाइएको छ ।
विभागले भिसाको विषयलाई लिएर गरेको निर्णयका कारण चिनियाँ नागरिक चाङ सिङ्चोङले नवलपरासी (सुस्ता पश्चिम) जिल्लाको बर्दघाटमा ५ वर्षदेखि चलाईरहेको गणपति ईट्टा उद्योग बन्द हुने स्थितिमा पुगेको हो । यदि उक्त उद्योग बन्द भए चार दर्जन कामदारहरुको रोजगारी साथै उद्योगको लगानी तथा प्रविधि गुम्ने उद्योग व्यवस्थापनले जनाएको छ ।
गत वर्ष कोभिड (कोरोना) का कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको समयमा अध्यागमन विभागले उद्योगको मुख्य लगानीकर्ता चाङ र उनकी श्रीमती वाङ साईसियुको भिसाको अवधि सन् २०२० जुलाई ९ तारिखसम्म मात्र दिएको थियो । नेपालमा ओभर स्टे (लामो समय) बसेको भन्दै लकडाउनकै समयमा विभागले नेपाल छाडेर चीन फर्किनु पर्ने र एक वर्ष नेपाल आउन नपाउने निर्णय गरेको थियो । विभागको उक्त निर्णयले वैदेशिक लगानीमा सञ्चालित गणपति ईट्टा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ । यसअघिका महानिर्देशक रमेश कुमार के.सीले नै उनीहरुलाई चीन फर्काउने भूमिका निभाएका थिए ।
‘यदि लगानीकर्ता चाङ र उनकी श्रीमती चीन फर्किनु प¥यो भने यहाँ चलिरहेको उद्योग बन्द गरेर हिंड्नुपर्ने अवस्था आउन सक्छ,’ उद्योगका व्यवस्थापक सुनिल मगर भन्छन्, ‘हामीले अध्यागमन विभागले गरेको उक्त निर्णय पुनर्विचार गरियोस् भनेर उद्योग विभाग (एकल विन्दु सेवा केन्द्र), गृह मन्त्रालयमा अनुरोध गरेर पत्र पठाएका छौं । दुवै जनाको पासपोर्ट अध्यागमन विभागले नियन्त्रणमा राखेको छ । हामीलाई दिएको छैन ।’
उनका अनुसार अहिले सरुवा भएर आएका महानिर्देशक नारायण प्रसाद भट्टराईलाई समेत यो विषयमा पुनर्विचार गरिदिन उद्योग व्यवस्थापनले आग्रह गरेको छ तर सुनुवाई हुन सकेको छैन । ‘यहाँ यस्ता धेरै चाईनिजहरु ओभर स्टे भएर बसिरहेका छन् । हामीले सुने अनुसार विभागमा सेटिङ गरेर पैसा खुवाउन सक्यो भने भिसा अपडेट हुन्छ रे तर हाम्रा लगानीकर्ताहरुले राज्यलाई कर तिरेर उद्योग व्यवसाय गरेर बसिरहँदा उल्टै समस्या माथि समस्या भोग्नु परिरहेको छ,’ उनले भने ।
उनका अनुसार भिसा सम्बन्धी समस्या नेपाली व्यावसायीक साझेदारका कारण उत्पन्न भएको हो ।
‘हामीले नचाहँदा नचाहँदै पटक पटक लाखौं रुपैयाँ जरिवाना तिरेर अध्यागमन विभागमा भिसा अपडेट गरि राख्यौं । नेपाली साझेदारले कम्पनी अद्यावधिक नगरिदिएको र कर सम्बन्धी विवाद उठेका कारण आज यो स्थिति आएको हो,’ मगरले भने ।
नेपाली साझेदारका कारण कम्पनीको विषयमा विवाद हुँदै आईरहेकोले भिसा लगाउन समेत समस्या भएको अवस्थामा ओभर स्टे बस्नुपर्ने, जरिवाना तिर्दै निश्चित अवधिका लागि टुरिष्ट भिसा लिनुपर्ने र यस बीचमा कोभिड–१९ का कारणले समेत भिसाको म्याद बढाउन नसकिएको लगायतका समस्याले जरिवाना बिलम्ब शुल्क तिरी भिसा अपडेट गराई राखेको मगरले बताए
नेपाली साझेदार व्यक्ति सन्दिप अधिकारीसँग साझेदारीमा मिलेर चाङले उक्त ईट्टा उद्योग चलाएका हुन् । सुरुका दिनहरुमा राम्रैसँग सञ्चालन हुँदै आएको यस ईट्टा उद्योग मिति २०७५ सालबाट नेपाली साझेदारसँग विवाद भई उद्योगको हिसाब किताब बिग्रँदै गईरहेको, नेपाली साझेदारले डकुमेन्ट तथा कागजपत्रमा हस्ताक्षर नगरिदिनाले अडिट रिपोर्ट लगायत कर सम्बन्धी विवाद भएको जस्ता समस्याका कारण कम्पनीको अपडेट हुन नपाएकोले व्यावसायिक (बिजनेश) भिसाको समस्या आएको व्यवस्थापनले जनाएको छ ।

चाङ सिङ्चोङले चीनमा रहेको आफ्नो कम्पनी रोङचङ सिटी हङ युन डेकोरेशन ईन्जिनियरिङ लिमिटेडबाट नेपालमा वैदेशिक लगानी ल्याएका थिए । उक्त कम्पनीले नेपालमा चालु रहेको गणपति ईट्टा उद्योगमा मिति २०७३/१/१५ मा विदेशी लगानी स्वीकृति गराई नेपाली साझेदार सन्दिप अधिकारीसँग मिलेर उद्योग चलाईरहेको छ ।

यसअघि चिनियाँ लगानीकर्ता र अधिकारीबीच कम्पनीको विषयमा विवाद भएर अद्यावधिक हुन नसकिरहेको उक्त उद्योगको सबै हिसाब किताब तथा कर फर फारक भई नेपाली पक्षमा शेयर समेत मुख्य लगानीकर्ता चाङले खरिद गरी आफ्नो नाममा पूर्ण स्वामित्वको उद्योग बनाईसकेका छन् । वैदेशिक लगानीको उक्त उद्योग हाल कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगत अद्यावधिक भईसकेको छ ।
भिषा नभएका कारण निष्काशन भएको हो : प्रवक्ता ढकाल
यस विषयमा प्रतिक्रिया लिन हामीले अध्यागमन विभागका सुचना अधिकारी झंकनाथ ढकाललाई सम्पर्क गरेका थियौँ । भिषा नभई नेपालमा बसेका कारण चाङ सिङ्चोङको दम्पत्तिकै देश निकाला भएको उनले बताए । ‘हामी पनि विदेश जाँदा भिषा नभई बस्न पाइँदैन । उहाँको पनि त्यही भएको होला । मैले फाइल हेर्न पाएको छैन,’ ढकालले भने,‘आभेर स्टे बस्ने अधिकार कसैलाई छैन ।’