
काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा अनौठो संयोग मिलेका व्यक्तिहरु मन्त्री बनेका छन् ।
काठ तस्करीको गम्भिर मुद्दा लागेका प्रेम आले वन मन्त्री छन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएका विष्णु पौडेल अर्थमन्त्री छन् । ज्यान मुद्दाका अभियुक्त प्रभु साह शहरी विकास मन्त्री छन् । ओली क्याबिनेटकै शैलीमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन् ।
मुख्यमन्त्री अविश्वास प्रस्ताव दर्ता भएपछि सरकार ढल्ने पक्का पक्की भएको थियो । मुख्यमन्त्री गुरुङको विरुद्ध मतदान गर्ने बताउँदै आएका स्वतन्त्र सांसद दिपक मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएपछि सरकार डेन्जर जोनबाट रेड जोनमा पुगेको टिप्पणी हुन थालेको छ ।
सामाजिक विकास मन्त्रालय फुटाएरै युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएका मनाङ्गे गुण्डागर्दी पृष्ठभूमिका सांसद हुन् । उनी विरुद्ध नेपाल प्रहरी विभिन्न समयमा ज्यानमुद्दा देखि गुण्डागर्दी अभियोगमा मुद्दा लगाएको थियो । उनी पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।
उनी केही वर्ष जेल समेत बसेर आएका पात्र हुन् । खेलकुद मन्त्री नियुक्त भएका उनी अखिल नेपाल फूटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपीट गरेपछि पक्राउ परेका थिए । २०७६ माघ ७ गते मिलनमाथि हातपात गरेको घटना सार्वजनिक भएको थियो ।
घटना सार्वजनिक भएको केही दिनमा पक्राउ परेका उनलाई प्रहरीले केहीदिन हिरासतमा राखेर छाडेको थियो ।