बाँकेमा शुक्रबार २०५ जना निको भएर घर फर्किए

दियोपोस्ट संवाददाता

काठमाडौं, १७ वैशाख । नयाँ भेरियन्ट कोराना भाइरसको हटस्पट बनेको बाँकेमा गत केहीदिन यता संक्रमितहरु निको हुने क्रम तिव्र गतिमा बढेको छ ।

ठूलो संख्यामा संक्रमित थपिने क्रम जारी रहेकै बेला दैनिक दुइ सय भन्दा बढी संक्रमितले कोरोना जितेर घर फर्किन थालेका छन् ।

सोही क्रममा बाँकेमा शुक्रवार मात्रै एकैदिन ५ वर्षिय बालक र ७१ वर्षिया बृद्धा समेत गरेर २०५ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएर आ आफ्नो घर फर्किएका छन् ।

विहिबार पनि १०० महिला र १४४ पुरुष गरेर २४४ जना संक्रमित निको भएर घर फर्किएका थिए ।

दुई दिनमा मात्रै जिल्लामा ४४९ जना संक्रमित निको भएर घर फर्किएको स्रोतले जनाएको छ ।

हालसम्म जिल्लामा ९ हजार २५३ जनामा संक्रमण पुष्टि भएको र ती मध्ये शुक्रवारसम्म ५ हजार ७७१ जना निको भएर घर फर्किसकेको र ३ हजार ५ सय भन्दा बढी होम आइसोलेसन र विभिन्न अस्पतालमा रहेका छन् ।