आयल निगममा विरेन्द्र गोइतको ‘कु’ : कमिशन बढाउन व्यापारीकै सेटिङमा निगम डुबाउने खेल !

diyopost.com
दियो पोस्ट  मंगलबार, चैत्र २९, २०७८ | २०:५२:००

 

काठमाडौं । नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक उमेश थानी प्रधानमन्त्रीसँगै भारत भ्रमणमा थिए । थानी भ्रमणमा गएकै दिन अर्थात गत चैत्र १९ गते रात यता आयल निगमले भने आन्दोलनरत व्यापारीहरुसँग ४ बुँदे सहमति गर्यो ।

भारत भ्रमण गएका थानीले निगमकै आन्तरिक नियन्त्रण तथा अनुगमन विभागका निर्देशक विरेन्द्र कुमार गोइतलाई कार्याबाहक तोकेका थिए । गोइतलाई व्यापारीसँग सम्झौता गर्ने, प्राशासनिक काम गर्ने कुनै अधिकार थिएन । तर, बेलुका करिब ९ बजे राष्ट्रिय पेट्रोलियम व्यावसाय संस्थागत समन्वय समितिसँग ४ बुँदे सम्झौता गरियो । जसमा व्यावसायीले पाउने कमिशन रकम एक हप्ता भित्र बृद्धि गर्ने विवादास्पद बुँदा समेत थियो ।

आखिर निमित्तको जिम्मेवारी पाएका गोइतले किन क्षेत्राधिकार बाहिर गएर सम्झौता गरे ? भन्ने प्रश्नले यतिबेला आयल निगममा हलचल पैदा गरेको छ ।
आयल निगमभित्रकै ‘विभिन्न’ सुत्रका अनुसार गोइत निगम भित्र कांग्रेस निकट व्यापारीको प्रतिनिधि पात्रको रुपमा खटाइएका व्यक्ति हुन् । उनले व्यावसायीले आन्दोलन गर्नुभन्दा एक हप्ता अगाडी कांग्रेस निकट पेट्रोलियम व्यावसायी विश्व अर्याललाई निगममै बोलाएका थिए । गोइतसहित निगमकै प्रवक्ता समेत रहेका वितरण विभागका उप निर्देशक विनितमणि उपाध्यायले आर्यालसँग भेटेका थिए ।

‘त्यही भेटपछि विश्व अर्याललाई ५ दिने आन्दोलनको रोडम्याप दिइएको थियो । लगत्तै व्यापारीहरुले आन्दोलन घोषणा गरे । आन्दोलनका नाममा व्यापारीहरले इन्धन स्टोरेज मात्रै गरे,’ स्रोतले भन्यो,‘विहिबारसम्म तेल उठाए, शुक्रबार र शनिबारसम्म इन्धन ठप्प पारे । शनिबार सम्झौता पनि भयो । त्यसपछि लगत्तै निगमले फेरी इन्धनको भाउ बढायो अनि फेरी व्यापारीले इन्धन विक्री गर्न थाले ।’

निगमकै उच्च अधिकारीहरु त्यो दिन गोइतले कु गरेको आरोप लगाउँछन् । ‘वास्तवमा त्यो कु नै हो । किनभने प्रशासनिक अधिकार भनेको प्रबन्ध निर्देशकलाई मात्रै हुन्छ । तर उहाँले त कमिशन बृद्धि गराउन सम्झौता नै गर्नुभो,’ ती अधिकारी भन्छन्,‘यो निगम डुबाउने र व्यापारीलाई धनी बनाउने खेल मात्रै हो ।’

गृहमन्त्रीको त्यो फोन !

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएका बेला कार्यबाहक प्रधानमन्त्री तोकिएका थिए–गृहमन्त्री बालकृष्ण खाँड । कार्याबाहक प्रधानमन्त्री पदमा रहेका खाँडलाई अरु भन्दा पेट्रोलियम व्यापारीको आन्दोलनले छोयो । स्रोतका अनुसार उनकी श्रीमती मञ्जु खाँडकै कारण उनलाई पेट्रोलियम व्यापारीको आन्दोलनले छोएको थियो ।

किन भने उनकी पत्नि मञ्जु खाँड ग्याँस व्यापारी समेत हुन् । नेपाल एलपी ग्याँस उद्योगी संघको अध्यक्ष समेत रहेका कुस मल्ली स्वामित्व रहेको राजधानी ग्याँसमा खाँडकी पत्नि मञ्जु समेत साझेदार छिन् ।

राष्ट्रिय पेट्रोलियम व्यावसाय संस्थागत समन्वय समितिका अध्यक्ष नै मल्ली हुन् । गृहमन्त्रीले कार्याबाहक जिम्मेवारी पाए लगत्तै उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेश पाण्डे, नेपाल आयल निगमका कार्यबाहक पाएका गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोशिसनका महासचिव विश्व अर्याललाई फोन गरेका थिए । शनिबार दिउँसो खाँडले फोन गरे । शनिबार नै ५ बजे व्यापारी र निगमबीच वार्ता चल्यो । बेलुका करिब ९ बजे व्यापारीको कमिशन बढाउने गरि निगमले सहमति जनायो ।

सम्बन्धित खबर