बालकृष्ण खाँण पक्राउ परेपछि सांसद मञ्जु खाँण सम्पर्कविहीन !

दियो पोस्ट  

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी मञ्जु खाँण सम्पर्कविहीन भएकी छन्। उनी नेपाली कांग्रेसकी समानुपातिक सांसद समेत हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँण पक्राउ परेको पाँच घण्टा बित्दा पनि मञ्जु सम्पर्कमा नआएकी हुन् ।

बुधबार बिहान बालकृष्णलाई पक्राउ गर्न प्रहरी टोली चाबहिलको मैजुबहाल पुग्दा घरमा मञ्जु थिइनन् । बालकृष्ण र उनका सहयोगी नरेन्द्र केसी मात्रै थिए। अहिले उनको मोबाइल फोनसमेत बन्द छ । उनी सम्पर्कविहीन भइरहँदा प्रतिनिधिसभामा सरकारका नीति तथा सिद्धान्तमाथि छलफल चलिरहेको छ ।

आरजु र मञ्जुलाई साढे ८ करोड बुझाएको अडिओ जाहेरवालाले नै दिएका थिए प्रहरीलाई नक्कली शरणार्थी प्रकरणमा मञ्जुले पनि साढे ६ करोड रुपैयाँ बिचौलियाबाट लिएको अडिओ केही दिनअघि सार्वजनिक भएको थियो ।

उनीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पनि अढाई करोड रुपैयाँ बुझेको विवरण उक्त अडिओमा थियो । उक्त प्रकरणमा मुछिन पुगेपछि मञ्जु अहिले पति बालकृष्ण र प्रहरीको पनि सम्पर्कबाहिर रहेकी हुन् ।

हालसम्म प्रहरीले यो प्रकरणका १२ जनालाई पक्राउ गरिसकेको छ। पछिल्लो पटक खाँण समातिएका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा बुधबार ५ घण्टासम्म बयान लिइएको छ । तर यतिका समय बित्दा पनि पतिको अवस्थाबारे जानकारी लिन मञ्जुले प्रहरीसँग पनि सम्पर्क नगरेको स्रोतले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर रकम कुम्ल्याउने दाउमा अवैध काम गरेको अभियोगमा प्रहरीले हाल सम्म १२ जनालाई पक्राउ गरिसकेको छ । पछिल्लोपटक आज (बुधबार) बिहान प्रहरीले स्वकीय सचिव नरेन्द्र केसीसहित पूर्वगृहमन्त्री खाँणलाई उनकै निवास चाबहिलबाट नियन्त्रणमा लिएको हो। योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको हो ।

यसअघि मंगलबार प्रहरीले काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई पक्राउ गरेको छ। यसभन्दा अघि पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका–२३ घर भएका सानु भण्डारी, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी समातिइसकेका छन्।

यस्तै सोही प्रकरणमा प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ गरेको छ।

सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको छ।