अवैध लागू औषधसहित ५ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित उनीहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा याङवरक गाउँपालिका–५ नागी बस्ने २६ वर्षीय दिपक लोक्सम र भारत घर भएका २५ वर्षीय रन्जित वर्मन रहेका छन् ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ६९०७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

साथै झापाकै दमक नगरपालिका–५ गणतन्त्र चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–९ बस्ने २२ वर्षीय सबिन सुनामरहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–५ बस्ने २१ वर्षीय राज चौधरीसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.११ प ७०८८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।