छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न स्थानमा सवारी दुघर्टना हुँदा ३ जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–१९ ईनर्वास्थित सडकमा ना.४ च ३४३२ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही उपमहानगरपालिका–११ होङगरहवा बस्ने १९ वर्षीय साहुल(प्रभात) पण्डित र वीरगंज उपमहागनगरपालिका–२९ बस्ने १६ वर्षीय सुरेश पण्डित रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका प्रभातको प्रादेशिक अस्पताल कलैया र सुरेशको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङको रंगेली नगरपालिका–५ धनपट्टी बोर्डरस्थित सडकमा प्र.न.१–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार रतुवामाई नगरपालिका–५ बस्ने ५० वर्षीया मानकी देवी साह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस