होटलमा खाना खान आएका ग्राहकको छुरा हानेर हत्या

दियो पोस्ट  

धादिङ । धादिङको एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ।

बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवाबोटे स्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेको बताइएको छ।

आरोपितलाई राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मजित थिङले जानकारी दिए।

खाजा खाएपछि होटल सञ्चालकसँग पैसा तिर्ने बेला भनाभन भएको बताइएको छ। खाजा खाएको पैसा तिरेपछि बाँकी रकम फिर्ता लिने क्रममा दुवै पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ।

घटनापछि पण्डित फरार भएका थिए। घाइते थापामगरको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा मृत्यु भएको हो।

प्रहरीले पण्डित, उनकी आमा सरस्वतीसहित ६ जनालाई पक्राउ गरेको छ।