छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा सवारीसाधन दुघर्टना हुँदा ३ जनाको मृत्यु भएको छ । रोल्पाको नगरपालिका–२ कालोपहिरास्थित सडकमा रा.२ प ८८५२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–६ कोटगाउँ बस्ने २२ वर्षीय उमेश बाठा मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका–४ स्थित दुई नम्बर क्यानसर गेट नजिकको सडकमा बा.०६–०१ प २९६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–२६ बस्ने ३६ वर्षीय दिपेन्द्र राज गिरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो ।

साथै काभ्रेको नमोबुद्ब नगरपालिका–७ खोलेखेतस्थित सडकमा बा.७२ प ४७०१ नम्बरको स्कुटर अनियन्त्रित भई सडकबाट करिब २५ फिट तल खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालख काठमाडौं टोखा नगरपालिका–२ बस्ने ६५ वर्षीय बिचारी हिङमाङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगंजमा थप उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।