अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । काठमाडौंबाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । जिल्लाको चन्द्रागिरी नगरपालिका–२ देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजा १ किलो २० ग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका–५ टुक्टिन बस्ने ३४ वर्षीय बिराज लामा र सोही ठाउँ बस्ने २८ वर्षीय शान्ताराज तामाङ रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीको टोलीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.३–०२–००९ प ४६८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–५ सखुअवा नाकाबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम आइतबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पर्सा र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सखुअवाबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३० डी ५८८५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरू मोटरसाइकल छोडी फरार भएपछि बोरामा रहेको उक्त गाँजा फेला पारी प्रहरीले बरामद
गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।