छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ

दियो पोस्ट

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूओषधसहित ९ जना पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका–९ गोडियनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–९ टेपरी बस्ने ३० वर्षीय अवदेश यादव र भारत घर भएका २३ वर्षीय दिपक कुमार पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ४० आर ३४१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्रामसहित एक जनालाई आइतबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–४ देवाफुलबारी बस्ने २८ वर्षीय साद्दव खाँन रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

साथै मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ९० मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २२ वर्षीय निर्मल कुमार सिंह र १९ वर्षीय धिरज कुमार सिंह रहेका छन् । प्रहरी सिक्टीबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३८ एस ०३८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलालीको टीकापुर नगरपालिका–१ सतघरुवा बस्ने २८ वर्षीय प्रकाश चौधरीसमेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८० मिलिग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । चौधरीको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
साथै कैलालीकै टीकापुर नगरपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ९० मिलिग्रामसहित एक जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–१ ज्योतीनगर डेरा गरी बस्ने अछाम विनायक पञ्चदेवल नगरपालिका–७ पुल्यतोला घर भएका १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर