काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको बयान आज पनि लिइँदै छ । हिजो बयानका क्रममा पेट दुख्यो भनेपछि खाँणको बयान रोकिएको थियो ।
आज उनको बयान लिने कार्यलाई निरन्तरता दिइने छ । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीका आरोपीहरूमध्ये ११ जनासँग जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि नै बयान लिइसकेको छ ।
यसअघि आइतबार खाँणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिइएको थियो । उक्त घटनामा अहिलेसम्म खाँणसहित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पाण्डे र केसीसहित १३ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका तीन आरोपीहरू भने फरार छन् ।
आइतबारअघि पक्राउ परेका १२ जनालाई अनुसन्धानका लागि आइतबार अदालतबाट चार दिनको म्याद प्राप्त भएको थियो । आइतबार पक्राउ परेका रायमाझीको हकमा भने हिजो तीन दिनको म्याद थप भएको छ ।