विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । तनहुँ आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध डाईजेपाम १ सय ९८ एम्पुल, नोरफिन १ सय ९८ एम्पुल र फेनारागन १ सय ९८ एम्पुल र २४ किलोग्राम गाँजासहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट ईशनाथ नगरपालिका–३ बस्ने २० वर्षीय अरुण पटेल, चितवन ईच्छाकामना गाउँपालिका–६ पाचकिलो बस्ने ५० वर्षीया पुनम गुरुङ र तनहुँ आबुखैरेनी गाउँपालिका–४ आमबेसी डाँडा बस्ने ४२ वर्षीया माया गुरुङ रहेका छन् । अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको प्रहरीको टोलीले चितवनबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ९१७ नम्बरको बसमा जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका–९ धनचैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित एक जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३ वर्षीय महेन्द्र बिक रहेका छन् । उनी पदैल हिँडिरहेका बेलामा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीलको टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।