
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् भने, फरार ५ जना रहेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ७ सय ९० मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–५ बस्ने ३० वर्षीय सन्तोष चौधरी र २६ वर्षीय करन चौधरी रहेका छन् । प्रहरी चौकी त्रिनगर र प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरीको टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कपिलवस्तुको नगरपालिका–२ तौलिहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ५० मिलिग्रामसहित एक जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–३ देवनगढिया बस्ने २४ वर्षीय आनन्द चौरसिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
साथै मोरङको उर्लाबारी नगरपालिका–३ सुनपकुवाबाट नियन्त्रित लागूऔषध ट्रमाडोल २ सय २८ क्याप्सुल र स्पासपेन २ सय २८ क्याप्सुलसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय निशान धिमाल र सोही नगरपालिका–८ बस्ने २३ वर्षीय निरोज कुमार लिम्बु रहेका छन् । निशान धिमालको घरमा अवैध लागूऔषध ओसारपसार तथा बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको प्र.नं.१–१०१२प१२०५ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।
यसैगरी सर्लाहीको हरिवन नगरपालिका–३ बुद्दचोकबाट अवैध लागूऔषध गाँजा करिब १० केजी गएराति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको टोलीलाई देख्नासाथ बाग्मती प्रदेश–०२–०३२ प १८५५ नम्बरको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरूले साधन छोडी फरार भएपछि मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
यसैगरी पर्साको पटेर्वासुगौली गाउँपालिका–५ देवरिया र जिराभवानी गाउँपालिका–५ शकंर सरैयाको सीमानाबाट अवैध लागूऔषध गाँजा करिब ३२ केजी ३ सय ८० ग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीको टोलीलाई देख्नासाथ ३ जना व्यक्तिहरुले २ थान बोरा फाली फरार भएपछि बोरा जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।