डर त्रास देखाएर चोरी, २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । डाँका–चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । भारतीय पर्यटकहरुलाई जबरजस्ती डर त्रास देखाई उनीहरूको साथमा भएको नगद लुट्ने तथा मोबाइल फोनबाट रकम ट्रान्सफर गराई डाँका–चोरीको आरोपमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–४ सिम्ले घर भई काठमाडौं महानगरपालिका–१६ बालाजु माछापोखरी बस्ने ३२ वर्षीय पदम बहादुर शाही र कैलाली धनगढी उमहानगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ३३ वर्षीय पुरन भन्ने ओम प्रकाश ऐरी रहेका छन् । उनीहरूले गत जेठ ३ गते राति काठमाडौं कोटेश्वरस्थित डान्सबारमा भारतीय पर्यटकहरूको साथमा रहेको नगद लुटपाट तथा मोबाइल फोनबाट रकम ट्रान्सफर गराई चोरी गरेका हुन् । घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले उक्त घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका–२९ सिंहदरबार दक्षिणगेट अगाडिबाट फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त बानेश्वर काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ ।