छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–७ जोखर ताल एरियाबाट अवैध लागूऔषध चरेश ४ सय ३६ ग्रामसहित एक जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ छविस पाथीभरा गाउँपालिका–३ बस्ने ३५ वर्षीय शिवराज उपाध्याय रहेका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर कन्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीको टोलीले उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
साथै कैलालीकै धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर ७५ मिलिग्रामसहित एक जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–८ बस्ने २६ वर्षीय समिर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी पर्साको वीरगंज महानगरपालिका–१६ रजतज्यन्ती चोकबाट नियन्त्रित लागूऔषध कोडिवेल १४ बोतलसहित एक जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ थानाभ्याङ बस्ने ३७ वर्षीय संतोष मिश्रा रहेका छन् । प्रहरी चौकी ईनार्वाबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.२५ प २६९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

साथै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित एक जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने ४६ वर्षीय ऋषि राम कँडेलरहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीको टोलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।