काठमाडौं । विभिन्न स्थानबाट सवारी दुघर्टना हुँदा ४ जनाको मत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–७ पिपल चोकमा बा.७६ प ७८४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुघर्टना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा कटहरी गाउँपालिका–२ बस्ने २७ वर्षीय सागर भगत रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको रेडक्रस अस्पताल विराटनगरमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो ।
यसैगरी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ स्थित सडकमा को.२ त ४६७६ नम्बरको ट्याक्टरबाट लडेर सोही ट्याक्टरको चक्काले किच्दा ट्याक्टरमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगा मानेभन्ज्याङ गाउँपालिका–६ सोक्माटार बस्ने ५३ वर्षीय मकर ध्वज राई रहेका छन् । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साथै भोजपुरको अरुण गाउँपालिका–६ माझिटारस्थित सडकमा को.२ ह ७४८५ नम्बरको अटो अनियन्त्रित भई दुघर्टना हुँदा अटोमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३९ वर्षीया धनमाया तामाङ रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल धनकुटामा उपचारको आइतबार राति क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धादिङको धुनिवेशी नगरपालिका–५ अर्जुनटारस्थित सडकमा प्र.२–०२–००१ ह १४५० नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६५ वर्षीय अम्बर बहादुर मानन्धर रहेका छन । शनिबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।