सुनकोशी गाउँपालिका अध्यक्षको घोषणा : ‘मेरो तलब भत्ता विद्यालयको फर्निचर खरिदमा खर्च गर्छु’

दियो पोस्ट  

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्षले आफ्नो एक वर्षको सम्पुर्ण तलब भत्ता शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गरेका छन् । गत शनिवार गरिएको पत्रकार सम्मेलनमा एक बर्षे कार्यप्रगति सार्वजनिक गर्ने क्रममा अध्यक्ष कमल तामाङले मासिक रुपमा पाउने ४४ हजार रुपैयाँबाट गाडीको सुविधा बापत काटिने १० हजार बाहेक प्रत्येक महिनाको ३४ हजार रुपैयाँका दरले जम्मा भएको चार लाख आठ हजार रकम पालिकाका चार विद्यालयलाई सहयोग घोषणा गरेका हुन् । निर्वाचन अघि उनले गरेको वाचा अनुसार उनले प्रत्येक वर्षमा यसरी नै शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गरेका हुन् । जुन विद्यालयमा आर्थिक समस्या रहेका छन् त्यस्ता विद्यालयको पहिचान गरेर एक लाख दुई हजारको दरले कालिका आधारभूत विद्यालय मूलकखर्क, कालिका माध्यमिक विद्यालय कोषभञ्ज्याङ्ग, कुशादेवी मावि कटुञ्जे र जगत जननी मावि मानेडाँडालाई दिने उनको भनाई छ ।

यो सँगै सडक, शिक्षा, स्वास्थ्य, स्वरोजगार, पुर्वाधार विकासमा पालिकाभित्रका सडकहरुको स्तरोन्नति, पालिका स्तरीय कभर्ड हल र खेल मैदान निर्माण, गाउँपालिकाको प्रशासकीय भवन निर्माण, विद्यालय र स्वास्थ्य चौकी भवन निर्माण वडा नम्बर ८ र १० मा मलामी विश्राम घर निर्माण, गाउँपालिकामा पाँच शैयाको अस्पताल निर्माणको प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष तामाङले बताए । त्यहाँका जनताका समस्या दिगो समाधानका लागि विभिन्न आयोजनाहरु सञ्चालनमा रहेको र केही योजना सम्पन्न भइसकेको उनको दाबी छ ।

गाउँपालिका भित्र रहेका ४० वटै विद्यालयकामा यो वर्ष ठोस उपलब्धि हासिल गर्ने समेत प्रष्ट पारेका छन् । गाउँपालिकाका स्थानियले समेत उनको कामको प्रशंसा गरेका छन् ।

“अध्यक्षको निर्वाचनका बेला जे प्रतिवद्धता थियो त्यो पूरा गर्दैछन् । हामीले सही मानिसलाई चुनेका रहेछौं भन्ने आभास भएको छ । यहाँ अझै धेरै समस्याहरु छन ति समस्याहरुलाई पनि उहाँले समाधान गर्नु हुने छ भन्ने हाम्रो अपेक्षा छ,’ ती स्थानियले भने ।

अन्य स्थानीयका जनप्रतिधिहरुले पनि यसरी नै शिक्षामा लगानी गरे यो क्षेत्रमा सुधार हुने तामाङको अपेक्षा छ ।

यता अध्यक्षको मात्र नभई उपाध्यक्ष सुनिता अधिकारीले स्थानीय सरकार संचालन ऐन २०७४को दफा ४७ को (१) बमोजिमका ३ मुद्दा सुनकोसी गाउँपालिकाको स्थानीय न्यायिक समितिको सचिवालयले छिनोफानो गरेको दाबी छ ।

सम्बन्धित खबर