छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । जिल्लाको महानगरपालिका–३२ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन १० ग्राम ५ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७० हजार रुपैयाँसहित एक जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका–१० ठेगाना भएका ३९ वर्षीय दिनेश लोवा रहेका छन् । विशेष सूचनाको आधार लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीको टोलीले उनको साथबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ५ सय मिलिग्राम फेला परेको छ । साथै थप अनुसन्धानको क्रममा सोही ठाउँस्थित डेरा कोठाबाट ९ ग्राम खैरो हेरोईन, डिजिटल तराजु १ थान र नगद ७० हजार रुपैयाँ बरामद गरेको हो ।

यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुबाट अवैध लागूऔषध खैरो हेरोईन २ ग्रामसहित एक जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका–१ ठेगाना भएका २९ वर्षीय निश्चत श्रेष्ठ रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

साथै कैलालीको टीकापुर नगरपालिका–९ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय मिलिग्रामसहित एक जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ बस्ने १६ वर्षीय किशोर रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी महोत्तरीको एकडारा गाउँपालिका–३ अजमरपट्टीबाट अवैध लागूऔषध गाँजा करिब १ सय केजीसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी गाउँपालिका–१ बस्ने २९ वर्षीय रुपेश गोले र सोही ठाउँ बस्ने २६ वर्षीय अनिल पाख्रिन रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीको टोलीले प्रदेश ३–००१ क ०२६९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी ट्रकका चालक रुपेश र सहचालक अनिललाई पक्राउ गरेको हो ।

साथै बाराको सिम्रौनगढ नगरपालिका–७ कवलपुर बोर्डर एरियाबाट अवैध लागूऔषध गाँजा करिब ३५ केजी सोमबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी अमृतगंज खजानी र बिओपी गोलागंजबाट खटिएको संयुक्त प्रहरीको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामत गरेको हो । प्रहरी अनुसन्धान भइरहेको थाहा हुनासाथ मोटरसाइकलमा सवार व्यक्तिहरूले साधन फाली फरार भएका छन् । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस