छुट्टाछुट्टै ठाउँबाट भरूवा बन्दुकसहित ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ बगौचाबाट भरुवा बन्दुक १ थानसहित एक जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६३ वर्षीय चन्द्र बहादुर पाख्रिन रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी हरिहरपुरगढी र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीको टोलीले पाख्रिनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
साथै सिन्धुलीकै कमलामाई नगरपालिका–१३ माथिल्लो रानिबाँसबाट भरुवा बन्दुक १ थानसहित एक जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४७ वर्षीय केशव हायु रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीको टोलीले उनको घर तलासी गर्दा धानको भकारीभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ पासादेउ बस्ने ५८ वर्षीय केशर सिंह धामीलाई एकनाले भरूवा बन्दुक १ थानसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले धामीको खुद्रा पसल नजिकै झाडीमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।