छुट्टाछुट्टै ठाउँमा नदीमा डुबेर ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा नदीमा डुबेर ३ जनाको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–१ भेरी नदीको किनार लाटेको तालमा भन्ने स्थानमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको सोमबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३ बस्ने नलगार्ड नगरपालिका घर भएका १५ वर्षीय बिवेक विक रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा शव फेला पारेको हो ।

यसैगरी सल्यानको सिद्धकुमाख गाउँपालिका–३ ढोरचौरस्थित शारदा नदीमा डुबेर एक जनाको सोमबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–५ घर भई शारदा नगरपालिका–१४ तुसारे फुपुको घरमा पाहुना आएको २३ वर्षीय गोबिन्द कुँवरको नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । नदीमा डुबेर अशक्त भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै महोत्तरीको मटिहानी नगरपालिका–५ गबरौडा गाउँ बस्ने मनोज यादवको छोरा ४ वर्षीय अनमोल यादवको सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा डुबेर अशक्त भएका बालकको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।