लावारिस अवस्थामा ३ जनाको शव फेला

दियो पोस्ट  

काठमाडौं । लावारिस अवस्थामा ३ जनाको शव फेला परेको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउदेखोलास्थित आफन्तको घरमा बस्दै आएका सोही गाउँपालिका–६ मस्याम घर भएका ६५ वर्षीय सहबिर नेपालीको शव फेला परेको हो । जेठ ६ गते घरबाट हिँडि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोही ठाउँस्थित हिउँदेखोला नजिकै भिरमा सोमबार मृत अवस्थामा शव फेला परेको हो ।

यसैगरी बाराको कलैया उपमहानगरपालिका–२७ पर्सा टोल मिर्ती खोला बस्ने ३६ वर्षीय पवन कुमार कुसवाहाको सोही ठाउँस्थित मिर्ती खोलामा सोमबार मृत अवस्थामा शव फेला परेको छ ।

साथै बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ जालेबगरस्थित सेती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४ वर्षीया बालिका सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।