
काठमाडौं । विभिन्न स्थानमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका–४ सेलगाँउ बस्ने २५ वर्षीय सर्जने साउदको करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँस्थित हात्तीकोटदेखि सेलगाउँतर्फ बिजुलीको लाइन बिस्तार गर्ने क्रममा करेन्ट लागेर उनको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।
यसैगरी रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरस्थित पराजुलि ग्रिल उद्योगमा काम गर्ने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २८ वर्षीय पवन थारु रहेका छन् । सोही ठाउँ बस्ने रिया थारुको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।
साथै सिरहाको गोलबजार नगरपालिका–१३ सिमरा टोल बस्ने ५५ वर्षीय देवनाथ यादवको मृत्यु भएको छ । आफ्नै खेतमा मोटर जडान गर्ने क्रममा करेन्ट लागेर उनको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।
यसैगरी सप्तरीको महदेवा गाउँपालिका–६ ढिक्कली टोल बस्ने २५ वर्षीय जवाहर मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको जस्ता छाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।