छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा सवारी दुघर्टना हुँदा १० जनाको मृत्यु भएको छ । रूकुम(पश्चिम)को बाँफिकोट गाउँपालिका–८ दुली दुधारस्थित भित्री सडकमा दुलीबाट खलङ्गातर्फ जाँदै गरेको लु.१ ज १७४७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेर ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानोभेरी गाउँपालिका–५ बस्ने ७० वर्षीय कर्ण बाठा मगरसहित ५ जना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवारमध्ये ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ४ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा मेडिकल कलेज कोहलपुर पठाईएको प्रहरी श्रोतले बतायो ।

यसैगरी प्युठानको गौमुखी गाउँपालिका–५ खुङ छहरेखोला भन्ने स्थानमा लु.४ त १२२५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुघर्टना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने २२ वर्षीय सुमन हमाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

साथै जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ गोरुचौर नाग्मा मुगु सडकमा भे.१ ख २९१३ नम्बरको बसबाट लडेर बसमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा धार्के गाउँपालिका घर भएका ३० वर्षीय छन्जविर गुरुङ रहेका छन् । लडेर गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी भक्तपुरको सूर्यबिनायक नगरपालिका–९ भाते ढिकुर नजिकै सडकमा ना.१ ख ९८४५ नम्बरको मिक्सर गाडी र बा.९१ प १६९६ नम्बरको मोटरसाइकल एकआपसको ठक्कर्रबाट दुघर्टना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुर नलिन्चोक बस्ने २३ वर्षीय रुपेश राजबंशी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमी हुँदै नर्भिक अस्पतालमा थप उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । मिक्सर गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै बाराको कलैया उपमहानगरपालिका–६ पर्सा टोलस्थित सडकमा बा.८५ प ७६०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही उपमहानगरपालिका–२३ बस्ने ६४ वर्षीय देउकी साह रहका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया हुँदै थप उपचारको लागि काठमाडौं ट्रमा सेन्टर लैजाने क्रममा बुधबार दिउँसो बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको एलएस न्यूरो अस्पताल गण्डकमा उपचार भइरहेको छ ।

यसैगरी ताप्लेजुङको फुङलिङ नगरपालिका–६ भोटे गुम्बास्थित सडकमा भोटे गुम्वाबाट पराजुली चोकतर्फ आउँदै गरेको मे.१ च ७३५३ नम्बरको स्कारपिओ गाडी आफै अनियन्त्रित दुर्घटना हुँदा गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सागर गुरुङको छोरा ५ वर्षीय अंशुमन गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर