छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी ६ सय २० ग्रामसहित एक जनालाई बिहीबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ घर भएका ४१ वर्षीय तेम्बा शेर्पा रहेका छन् । थाई लिओन एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट थाईल्याण्डको बैंककतर्फ प्रस्थान गर्न लगेका उनलाई विमानस्थलमा खटिएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा झोलाभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलालीको टीकापुर नगरपालिका–९ खर्गौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका–४ जानकी नगर बस्ने २१ वर्षीय दिपेश चन्द्र रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी बिहीबार दिउँसो पक्राउ गरेको हो ।

साथै सुनसरीको धरान उपमहानगरपालिका–८ गौरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० क्याप्सुल, स्पासपेन १ सय ३० क्याप्सुलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षीय काजी कुमार राई र उनकै श्रीमती ३५ वर्षीया रमा राई रहेका छन् । ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई उक्त लागूऔषधसहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चेकपोईन्टबाट ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५ सय मिलिग्राम, नाइट्राभेट ८ ट्याब्लेट र कोरेक्स ५० एमएलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१२ बस्ने २४ वर्षीय सुबास पुन रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी बिहीबार साँझ पक्राउ गरेको हो ।

साथै सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाबाट नियन्त्रित लागूऔषध डाईजोपाम, फेनारगन, ब्युफ्रेनोरफिन गरी जम्मा ८४ एम्पुलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २० वर्षीय मोहम्द सागिर सेख रहेका छन् । अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त लागूऔषधसहित बिहीबार साँझ पक्राउ गरेको हो ।

साथै कञ्चनपुरको भिमदत्त नगरपालिका–४ ठाउँस्थित पसलभित्रबाट रेक्सोजेसिक १ सय ५८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन १ सय ५८ एम्पुलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २९ वर्षीय लोकेन्द्र राना मगर र २० वर्षीय पारस बासी रहेका छन् । कञ्चनपुर भिमदत्तबाट खटिएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित बिहीबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।