छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । रूपन्देहीको शुद्धोधन गाउँपालिका–१ सिसै बस्ने १९ वर्षीय कृष्ण सहनी पक्राउ परेका छन् । उनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३२ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी सोही ठाउँस्थित सैचोकबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी पर्साको बहुदरमाई नगरपालिका–४ बहुअरीबाट अवैध लागूऔषध गाँजा ४ किलोग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–६ गमरिया बस्ने ६५ वर्षीय रामचन्द्र साह तुराहा रहेका छन् । अस्थाई प्रहरी पोष्ट बहुअर्वाबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त गाँजासहित फेला पारी आइतबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।