काठमाडौं । विभिन्न स्थानमा सवारी दुघर्टना हुँदा ५ जनाको मृत्यु भएको छ । मुगुको छाँयानाथ रारा नगरपालिका–१३ फलात्तास्थित सडकमा लु.४ त ७३६८ नम्बरको ट्याक्टर सडकबाट करिब ४० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ट्याक्टर चालक सोही नगरपालिका–१४ फाइपाटा बस्ने ३२ वर्षीय काशीराम बडुवाल र सहचालक २५ वर्षीय शिव बडुवाल रहेका छन् ।
यसैगरी सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीस्थित सडकमा बीआर ०३ यू १४६८ नम्बरको मोटरसाइकल आइतबार बिहान पल्टिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यस हुनेमा बिलासी नगरपालिका–१० सलेमपुर बस्ने ६० वर्षीया शान्तीदेवी पण्डित रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका मोटरसाइकल चालक शान्तीदेवीकै छोरा ३५ वर्षीय बिनोद पण्डितको उपचार भइरहेको छ ।
साथै सर्लाहीकै पर्सा गाउँपालिका–१ स्थित सडकमा बिआर ३० टि ११९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका–६ बस्ने ५२ वर्षीया लालो देवी रहकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक
अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहा चौकस्थित सडकमा स.१० प ४३०४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३५ वर्षीया बबिता मण्डल रहेकी छिन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको
प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।