काठमाडौं । कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा पत्रकार रीता बुढाथोकी सम्मानित भएकी छन् । प्रेस सेन्टरको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा अवसरमा मेची–महाकाली साइकल यात्रा गरेकी पत्रकार तथा प्रेस सेन्टरकी केन्द्रीय सदस्यबुढाथोकीलाई कदरपत्र प्रदान गरिएको हो ।
गत बैशाख ६ गते सबै खाले मानवीय विभेदका विरुद्ध तीन जना महिला पत्रकार मेची–महाकाली साइकल यात्रामा निस्केका थिए । विभेदविरुद्ध बनेका कानुन कार्यान्वयनसहित सबै खाले भेदभावका बारेमा जागरण जगाउने उद्देश्यले पत्रकार महिलाहरूले पश्चिम महाकालीको गड्डा चौकीबाट साइकल यात्रा सुरु गरेका थिए । साइकलयात्रा बैशाख २६ गते साँझ काँकडभिट्टाको मेची पुलमा समापन भएको थियो ।
योसँगै सबै प्रदेशबाट एक–एक जना क्रियाशील पत्रकारलाई सम्मान पनि गरिएको छ । कोशी प्रदेशबाट आचार्य, मधेश प्रदेशबाट आशिष विक, बागमती प्रदेशबाट संगीता डेम्जोङ, गण्डकीबाट सविना प्रजा, लुम्बिनीबाट कमल रायमाझी, कर्णालीबाट पंखबहादुर शाही, सुदूरपश्चिमबाट तेजराज भट्ट सम्मानित भएका छन् ।
उपत्यका प्रदेशबाट विक्रम रत्न, प्रतिष्ठानबाट नरेश ज्ञवाली, एशोसियटबाट विजय आवाज सुवेदीलाई सम्मान गरिएको छ । उनीहरुलाई जनही ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरियो । सर्वोत्कृष्ट प्रदेशको रुपमा उपत्यका प्रदेश समिति तथा जिल्लाहरुमा सुनसरी, मकवानपुर र बाँकेलाई सम्मानपत्रसहित सम्मान गरिएको छ । पुरस्कार छनोट समितिमा वरिष्ठ उपाध्यक्ष कमल गिरी संयोजकत्व तथा सदस्यहरुमा लेखनाथ न्यौपाने र गंगा बराल रहेका थिए ।
जनयुद्धकालमा शंखरापुर क्षेत्रबाट शहादत प्राप्त गरेका किरण दंगाल र वेपत्ता पारिएका ध्रुव दंगाल, देवराज दंगाल, आइत तामाङको परिवारलाई पनि सम्मान गरिएको छ ।