छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपलिका–१ मसेरुवा बस्ने २४ वर्षीय दुर्गा दास रहेका छन् । रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज. ०२९२ नम्बरको टाटा सुमोलाई प्रहरीको टोलीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी ८ सय ८५ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गल्छी गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीको टोलीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख १४१० नम्बरको माइक्रोलाई जाँच गर्ने क्रममा ती किशोरलाई उक्त गाँजासहित फेला पारी मंगलबार दिउँसो पक्राउ गरेको हो ।

साथै कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम ३६ मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत पिलभित–४ बस्ने २२ वर्षीय सोनु सिंह र २५ वर्षीय सुकदेव सिंह रहेका छन् । प्रहरी चौकी भुडा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय बेलडाँडी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको युके ०६ बिएफ ४६९० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।