सरकारको विवादास्पद निर्णय : भेपमाथि प्रतिबन्ध, स्वास्थ्यमा खतरनाक निकोटिनयुक्त चुरोट खुल्ला !

खुमा वली  

काठमाडौं । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ ।

यसरी सरकारले विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारी गरिरहदा मानव स्वस्थ्यका लागि गम्भीर समस्या बनेको निकोटिनयुक्त सुर्तिजन्य पदार्थ मिश्रित चुरोटहरुमा सरकारको चासो देखिएको छैन ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेकाले सोही कार्यान्वयन गर्नका लागि भन्दै पत्राचार गरिएको छ ।

निकोटिन र यसको सेवन ?

 

लत् लगाउने पदार्थहरूमा निकोटिन साह्रै बानी पार्ने तर अक्सर बिर्सिइने नशालु चिज हो । चुरोट, बिँडी, सिगार, तमाखु, कक्कड, सुल्पा जस्ता धुँवा तान्ने तथा सुर्ती, जर्दा, पान, मसला, नस, गुट्खा जस्ता धुवाँरहित हिसाबले सेवन गर्ने निकोटिनयुक्त पदार्थहरू हुन् । पहिलेदेखि सुरु भएको यसको प्रयोग बिसौं शताब्दीमा उल्लेख्य रूपमा बढ््यो । सन् १९५० को दशकदेखि यसबाट विभिन्न रोगहरू हुने तथ्य अगाडि आउन थाल्यो । सन् १९८८ तिर प्रकाशित धुमपानको स्वास्थ्यमा असरसम्बन्धी शोधलेखले अमेरिका र विकसित देशमा ठूलो हलचल समेत ल्याएको थियो ।

निकोटिन सेवन र समस्या

सुर्तीजन्य पदार्थहरू समाजमा विविध स्वरुपमा, सजिलै र स्वीकृत रूपमा पाइन्छन् । विकसित मुलुकमा तीन चौथाइ जति मानिसले कुनै बेला यसको सेवन गर्ने, एक चौथाइ जतिमा यसको लत् नै पर्ने र सेवनकर्ताहरूमा एक तिहाई जतिमा दुव्र्यसनी हुनेगर्छ । यस हिसाबले यो अरु कुनैपनि दुव्र्यसनजन्य पदार्थभन्दा खतरनाक देखिन्छ । यो तथ्य विश्वका सबैजसो भागमा लागू हुने देखिन्छ । विश्वभर एक अर्बभन्दा धेरै मानिसले यसको सेवन गर्छन्, वर्षेनी ६० लाख जति मानिसको यसैको कारण मृत्यु हुन्छ । यो संख्या सन् २०३० सम्ममा बढेर ८० लाख पुग्ने आंकलन गरिएको छ ।

हरेक ६ जनामा यो एकको मृत्यूको कारण बन्दैछ । बीसौं शताब्दीमा १० करोड मानिसको ज्यान लिएको यो समस्याले एक्काइसौं शताब्दीमा एक अर्बको ज्यान जाने प्रक्षेपण गरिएको छ । अरुले धुमपान गरी छाडेको धुवाँबाट पनि ६ लाख जतिले मृत्युवरण गर्छन् ।

यसले गर्दा व्यक्ति र समाजको आर्थिक स्थिति र विकासमा गम्भीर असर पर्छ । स्थितिको यथार्थ विश्लेषणबाट सुर्तीजन्य पदार्थ मानवजातिको स्वास्थ्यको लागि सबैभन्दा ठूलो खतरा बनिरहेको छ । विश्व स्वास्थ्य संघले यसलाई सर्वाधिक व्यापक, प्राणघातक र महंगो भएपनि उपचारमा अरु पदार्थहरूको दुव्र्यसनभन्दा बढी प्रभावकारी हुने स्वास्थ्य समस्याको रूपमा लिएको छ ।

यसरी मानव स्वास्थ्यका लागि सिधै असर गर्ने निकोटिनयुक्त सुर्तिजन्य पदाथर्, मिश्रित चुरोटहरु सहज उत्पादन, आयात, विज्ञापन, बिक्री/वितरण र सेवनमा कुनै कानुनी कारबाही भएका छैनन् । यस्ता कार्यहरु नियमविपरित भएपनि यसतर्फ सरकारको चासो देखिएको छैन ।

केन्द्रका निर्देशक केशवराज पण्डितले विद्युतीय चुरोटको सेवनले चुरोट खान सिकाउँने र यसले निकोटिनको लत बसाउने काम गर्ने बताए । तर विद्युतीय चुरोटभन्दा बढी घातक निकोटिनयुक्त सुर्तीजन्य चुरोट भने बजारमा यत्रतन्त्र पाइन्छन् ।

‘विद्युतीय चुरोटको सेवनले चुरोट खान सिकाउँछ । यसले निकोटिनको लत बसाउने काम गर्दछ,’ उनले भने, ‘त्यसैले विद्युतीय चुरोट सुर्तीजन्य पदार्थ सेवनको गेट–वेका रुपमा रहेको छ,’ पण्डितले भने ।