थाँक्रेस्थित अवैध खानी रोक्न फेरी सर्वोच्च अदालतको आदेश : पालना गर्दैन गाउँपालिका र प्रशासन !

दियोपोस्ट संवाददाता  

धादिङ । सर्वोच्च अदालतले धादिङ थाँक्रे गाउँपालिका ७ ठाडो खोलामा अवैध रुपमा संचालित कुमारी माता रोडा ढुंगा उद्योग प्रा.लीको अवैध उत्खनन् रोक्न फेरी अर्को आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलाशले खानीको अवैध उत्खनन् रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

यसअघि गत असारमा सर्वोच्चका अर्का न्यायधीश कुमार रेग्मीको ईजलाशले उक्त खानीको अवैध उत्खनन कार्य रोक्न र गाउँपालिकालाई ३ महिना भित्र वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन पेश गरि उचित निर्णय गर्न आदेश दिएको थियो । तर, वडा नम्बर ७ का वडाध्यक्ष युवराज खतिवडाले खानी संचालकसँगको मिलेमतो गरि स्थानिय जनताको सरोकारलाई समेत बेवास्ता गरि नक्कली वातावरणीय प्रभाव मुल्यांकन गाउँपालिकामा पेश गरेका थिए । उनकै प्रतिवेदनलाई टेकेर गाउँपालिकाले खानी संचालन गर्ने निर्णय गरेको थियो । जबकी वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन खानी विभागबाट स्विकृत हुनुपर्छ । तर, गाउँपालीकाले खानी विभागलाई समेत बेवास्ता गर्दै खानी संचालनका लागि अनुमति दिएको थियो ।

गत असारमा जारी भएको अन्तरिम आदेशबारे अर्को पेशी समेत नआउँदै गाउँपालिकाले आर्थिक प्रभावमा परेर खानी संचालनका लागि अनुमति दिएको आरोप स्थानियहरुको छ । स्थानियले वातावरणीय प्रभाव मुल्यांकन गर्दा स्थानियबासीलाई समेत बेवास्ता गरिएको र सोही प्रतिवेदनलाई आधार मानेर गाउँपालिकाले खानी संचालन गर्न दिएको भन्दै फेरी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले उक्त रिट अनुसार अल्पकालिन अन्तरिम आदेश दिँदै आगामी जेठ १ गते छलफलका लागि सर्वोच्च अदालतमा हाजिर हुन भनेको छ ।