बुटबलमा ‘बा–आमासँग नगर प्रमुख’ कार्यक्रम, २५ सय भन्दा बढी जेष्ठ नागरिकले पाए घरमै स्वस्थ्य सेवा

Rita Budhathoki  

रीता बुढाथोकी, बुटबल । बुटवल तामनगरस्थित प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर केही महिना अघि सुरु गरिएको ‘बा–आमासँग नगर प्रमुख’ कार्यक्रममा अहिलेसम्म २५ सय भन्दा बढी जेष्ट नागरिकहरुले उपचार पाएका छन् । उप–महानगरपालिका भित्रका जेष्ठ नागरिकलाई बिशेषज्ञ टोलीका साथ घरमै पुगेर स्वास्थ्य परीक्षण गरी सेवा दिए पछि जेष्ठ नागरिकहरुले स्वास्थ्य सेवा लिएका हुन् ।

हिँडडुल गर्न नसक्ने, अति अशक्त, अपाङ्गता भएका, बिपन्न र दीर्घ रोगी जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिँदा जेष्ठ नागरिकहरु निकै खुसी भएको नगर प्रमुख खेलराज पाण्डेले बताउनु भयो । जेष्ठ नागरिकको हितमा पहिलो पटक सुरु गरिएको कार्यक्रम प्रभावकारी भएको भन्दै नगर प्रमुख पाण्डेले प्रत्येक वर्ष यस कार्यक्रमको निरन्तरता दिइने जानकरी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘हामीले जेष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर राख्दै यो कार्यक्रम ल्याएका हौँ । यो कार्यक्रम सबै वडाहरुमा निकै प्रभावकारी भएको छ । त्यसैले आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने छौँ ।’
नगर प्रमुख पाण्डेले बुटबल उपमहानगर पालिका ‘समानता, स्वाभिमान र अवसर, बस्न योग्य बुटबल शहर’ भन्ने नाराका साथ बुटबललाई नमुना शहर बनाउन प्रयासरत रहेको भन्दै ‘बा–आमासँग नगर प्रमुख’ कार्यक्रमले बुटबललाई नमुना शहर बनाउन थप मदत गरेको दावी गर्नु भयो ।

चालु आर्थिक वर्ष ०८०/८१ को बजेटमा ‘बा–आमासँग नगरप्रमुख’ कार्यक्रम संचालन ल्याएको उप–महानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिनु भयो । यसका साथसाथै उप–प्रमुख सुत्केरी स्वास्थ्यवर्द्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम, जटिल रोगका बिरामीका लागि राहत र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको उहाँले जानकारी समेत दिनु भयो ।

‘बा–आमासंग नगरप्रमुख’ कार्यक्रम १९ वटै वडामा संचालन भईरहेको जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनु भयो । स्वास्थ्य परीक्षण र उपचार गरिएका जेष्ठ नागरिकमध्ये हालसम्म महिला १३ सय ८२ र पुरुष ११ सय ९९ जना गरि जम्मा २५ सय ८१ जनाको उपचार गरिएको प्रमुख पाण्डेले जानकारी दिनु भयो । सो क्रममा ७ सय ८ जनाले इसिजी सेवा लिएको र २२ सय ६९ जनाको सुगर परिक्षण गरिनुका साथै १ सय २५ जनाको भिडियो एक्सरे गरिएको समेत बताउनु भयो । अस्पतालमा पाइने सेवा घरमै पाए पछि जेष्ठ नागरिकमा उत्साह थपिएको उहाँको भनाइ छ ।

उपमहानगर पालिकाले घरदैलोमै स्वास्थ्य सेवा सेवासंगै आवश्यक औषधीसमेत निशुल्क प्रदान गरिएको प्रमुख पाण्डेको भनाई छ । अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा.नन्दु पाठक, स्त्री रोग विशेषज्ञ डा.राजेन्द्र बस्याल, फिजिसियन डा.हरि पन्थी, विशेषज्ञ चिकित्सकहरू, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरू द्वारा दैनिक स्वास्थ्य परीक्षण गरिदैँ आएको छ ।