मुगुमा पहिलो पटक विज्ञान प्रदर्शनी (फोटोफिचर)

दियोपोस्ट संवाददाता  

मुगु । मुगुमा पहिलो पटक विद्यालयमा विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम गरिएको छ । जिल्लाको खत्याड गाउँपालिका-३ स्थित श्री कालिका माध्यमिक विद्यालय बुगाले पहिलो पटक यसरी विद्यालयमै यस्तो कार्यक्रम सम्पन्न भएको हो ।

विद्यार्थीको अन्रनिहित प्रतिभालाई व्यवहारिक तथा जवनोपयोगी सिप विकासमा सहयोग पुर्याउने उद्देश्यले उक्त पदर्शनी गरिएको प्राध्यापक जेट बहादुर शाहीले बताए । उनले भने, “दुर्गमका सामुदायीक विद्यालयका विद्यार्थीहरुमा पनि प्रतिभा र क्षमता हुन्छ र यसलाई पनि स्रोध, साधन तथा अबसरहरु पाए नयाँ नयाँ विज्ञान प्रविधिका काम पनि गर्न सक्छन भन्ने सन्देश दिन खोजेको हो ।”

विद्यालय तहदेखि विज्ञानका सामग्री निर्माणले भविष्यमा वैज्ञानिक बन्ने आधार तय गर्ने परम्परागत रूपमा चल्दै आएका सामग्री आधुनिकतासँगै हराउँदै आएको छ । परम्परादेखि प्रयोगमा आएका सामग्री विज्ञानकै नमुना समेत भएको उनको भनाई छ ।

देशलाई विकास गर्न वैज्ञानिक आविष्कारमा ध्यान दिनु पर्नेमा अवलोकनकर्ताहरूले जोड दिएका छन् । विद्यालय तहका विज्ञानमा पठाइ हुने भौतिकशास्त्र, मेकानिकल, जीव विज्ञानसँग सम्बन्धित स्काभेटर, हेलिकप्टेर,प्लेन,टिपर,पोलि हाउस, रोवर्ड, रोवर्ड बाट बल खेल्ने, एकिकृत खेति प्रणाली लगायतका सामग्री विद्यार्थीले प्रदर्शनीमा राखेका थिए ।

खत्याड गाउँपालिकाका अध्यक्ष अज बहादुर शाहीले अब विज्ञान विषयलाई प्रतिस्पर्धीमुखी बनाउन आवश्यक भएको बताएका छन् ।
“विगतमा विज्ञान विषय पास गर्नका लागि पढ्ने र पढाउने गरिन्थ्यो । विगतमा पास मात्र गराउने गरी विज्ञान पढाइ हुँदा देशमा दक्ष जनशक्ति उत्पादन हुन सकेनन्”, शाहीले भने, “देशमा आवश्यक वस्तु विदेशीकै भर पर्नुपर्ने स्थिति आएकाले अब विज्ञान विषयलाई प्रतिस्पर्धी बनाउनु पर्छ ।”
उक्त कार्यक्रममा पालिका अध्यक्ष शाही, उपाध्यक्ष सरिता रोकाया, वडा अध्यक्ष र विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरू लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिको सहभागिता थियो ।