कति छ प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ?

सम्पत्ति विवरण सार्वजनिक

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को १५ कठ्ठा जमिन, ५ तोल सुन र २५ लाख नगद सम्पत्ति रहेको सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

प्रधानमन्त्री दाहालको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी पत्नी सीता दाहालको नाममा रहेको सम्पत्ति विवरणमा उल्लेख छ। सो जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ।

त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ।

यस्तै प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन र एभरेष्ट बैंक लिमिटेड, सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको उल्लेख गरिएको छ।उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ। प्रधानमन्त्री प्रचण्डसँग कुनै ऋण, सवारी साधन, कृषि तथा पशुधन नरहेकोसमेत सो विवरणमा उल्लेख गरेका छ।