पक्राउ पुर्जी बदरकाे माग गर्दै कैलाश सिरोहिया सर्वोच्चमा

दियोपोस्ट संवाददाता  

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएपछि रिट दायर गर्न उनी सर्वोच्च अदालत पुगेका छन्।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले मंगलबार उनीविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएका थिए।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेपछि धनुषा प्रहरीले उनीविरूद्ध पुर्जी माग गरेको थियो।

उक्त पुर्जी जारी भएसँगै अध्यक्ष सिरोहिया रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्। उनले जिल्ला अदालत धनुषाको पक्राउ पुर्जी बदर गरपाउँ भन्दै सर्वाेच्च पुगेको स्रोतले बतायो ।

यसअघि सिरोहियाले आफूविरूद्ध धनुषा प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रतिषेधको आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो।

यता काठमाडाैंकाे थापाथलीस्थित कान्तिपुर दैनिकको केन्द्रीय कार्यालयमा सादा पाेशाकका प्रहरी पुगेका छन् । उनीहरू सिराेहियालाई पक्राउ गर्न पुगेकाे आशंका गरिएकाे छ ।

अपराध अनुसन्धान महाशाखाकाे टाेली कान्तिपुर मुख्यालय पुगेकाे हाे ।