सिरोहिया धनुषा जिल्ला अदालतमा पेश, अदालत परिसर बाहिर प्रदर्शन

‘राज्य आतंक बन्द गर'

दियोपोस्ट संवाददाता  

जनकपुरधाम । दोहोरो नागरिकताको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ ।

उनीमाथि अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले अदालतमा पेश गरेको हो । उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरी धनुषा पुर्याइएको थियो । उनलाई आज अदालतमा पेश गरिएको धनुषाका प्रहरीले जानकारी दिएको छ ।

नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ किटानी जाहेरी दिएका थिए । जाहेरीको आधारमा जिल्ला अदालतले उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो ।

सिरोहिया पक्राउको विरोधमा बुधबार जनकपुरमा प्रदर्शनसमेत भएको छ । जनकपुर नागरिक समाजको ब्यानरमा भेला भएकाहरुले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश सिरोहियालाई रिहा गर’ नारा लगाएका छन् ।