सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले गर्‍यो अस्वीकार

दियोपोस्ट संवाददाता  

काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।

बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।

नेपालस्थित अमेरिकी दूतावासका एक अधिकारीले भने लामिछानेलाई भिसा नदिइनुको कारण खुलाउन अस्वीकार गरे ।