अष्ट्रेलियन ट्रेकिङ कम्पनिको लापरबाहीले नेपालको लाङटाङ क्षेत्रमा गाइडको मृत्यु !

दियोपोस्ट संवाददाता  

काठमाडौं । ट्रेकिङ कम्पनिको लापरबाही र समयमै रेस्क्यु नहुँदा एक गाइडको रहस्यमयी मृत्यु भएको छ । नेपालमा दर्ता नभई अष्ट्रेलियाबाट संचालित टेक अन नेपाल नामक कम्पनिमा कार्यरत गाइड विजय तामाङको मृत्यु भएको हो । रसुवाको लाङटाङ क्षेत्रमा विदेशी पर्यटकको गाइड बनेर पुगेका विजयको गत जेठ ६ गते मृत्यु भएको हो । उनलाई सो क्षेत्रमा विरामी हुँदा हुँदै कम्पनिले पुर्याएको पीडितका आफन्तको भनाई छ । सिन्धुपाल्चाकको पाँचपोखरीबाट रसुवाको सिमानामा पर्ने तिलमान पास जाने क्रममा उनको निधन भएको हो । सिजनभरी काम गरेपछि रेक्की गर्नका लागि भनेर कम्पनिले उनीसहित केही व्यक्तिलाई सो क्षेत्रमा पठाएको थियो ।

‘उहाँको मृत्यु लाङसिसा भन्ने ठाउँमा भएको हो । उहाँलाई पहिले नै गाह्रो भएको थियो । एक जना विदेशी त त्यो यात्रामा बिच बाटोबाटै फर्किएका हुन् । यो रुट पास गर्न निकै गाह्रो पनि छ । आफ्नो डे व्याग पनि पास गर्न नसक्ने अवस्थामा विरामी पुग्दा पनि कम्पनिले उद्दार समेत गरेन,’ उनी निकट स्रोतले दियोपोस्टसँग भन्यो,‘लाङसिसा भन्ने ठाउँमा आएपछि एउटा पोर्टर र मृत्यु भएका विजयसँगै थिए । त्यसमध्ये विजयले हिँड्न समेत सकेनन् । एक जना पोर्टरको साथ छोडेर अन्य ५ जना अगाडी गएछन् ।’

उनका अनुसार बीच बाटोमै छोडेर जानु हुँदैन थियो । सँगै लिएर जाने वा हेलिमार्फत रेस्क्यु गराउनु पर्थ्यो । तर, कम्पनिका ती अधिकारीहरुले बीच बाटोमै छाडेर गएको उनको आरोप छ । ‘त्यहाँ नै अक्सिजन क्यान लगाएको भए विरामी बाँच्न पनि सक्थ्यो । स्याटेलाइट फोन मार्फत हेलि रेस्क्युका लागि तुरुन्तै रिफर गर्नुपर्ने हो । तर, त्यसो गरिएन । हिमाल क्षेत्रमा विरामी भए के गर्ने भन्ने अनुभवै नभएको मान्छेलाई छोडेर उनीहरु हिँडे । घर केही पनि नभएको स्थानमा विरामी रातभर एक्लै बसेको थियो । बास बसेको ठाउँबाट सय मिटर हिँडेपछि मलाई गाह्रो भयो भन्नु भएको रहेछ । म बस्छु भनेर आराम गर्नुभएछ । भित्तामा अडेस लागेर बसेकै ठाउँमा उहाँको साथीले ल जाउँ हिँड भन्दा उहाँ उठ्नु भएनछ । त्यहीँ उहाँको मृत्यु भएछ ।’

अघिल्लो दिन विरामी भएका तामाङलाई रातभर सम्म रेस्क्यु गर्न नसकिएपनि भोलीपल्ट विहानसम्म पनि रेस्क्यु नगरिएपछि निधन भएको उनका आफन्तले दियोपोस्टलाई बताए । ‘विहान सात आठ बजेसम्म रेस्क्यु गरेको भए विरामीको मृत्यु हुँदैन थियो । यसमा कम्पनिको लापरबाही छ,’ उनले भने ।
मृतकको छैन विमा

नेपालमा ट्रेकिङ जाने गाइडको तथा पोर्टरको विमा अनिवार्य छ । विमा बिना कुनै पनि गाइड हिमाली क्षेत्रमा जान पाउँदैनन् । तर, नेपालमा अवैध रुपमा संचालन हुँदै आएको मृतक विजय कार्यरत रहेको टक नेपालले उनलाई विमा बिना नै हिमाली क्षेत्रमा काममा लगाएको खुलेको छ ।

मृतकको विषयमा कम्पनिले नै झूटो प्रचार गरेको देखियो

मृतकको विषयमा श्रद्धाञ्जली टेक अन नेपाल ट्रेकिङ कम्पनिले विजयलाई हृदयघात भएको झूटो प्रचार गरेको छ । जबकी उनलाई हाई अल्टिच्युड लागेर कम्पनिले समयमै उद्दार नगर्दा मृत्यु भएको पीडित परिवारको दाबी छ । सामाजिक संजाल फेसबुकमा घटनाबारे जानकारी दिँदै कम्पनिले विजयलाई हृदयघात भएको उनका साथीले बताएको लेखेको छ । मृतक परिवारलाई क्षतिपुर्ति दिने सर्तमा शव समेत बुझाइएको खुलाशा भएको छ ।

कम्पनि संचालक सम्पर्क विहिन

विजयको मृत्युबारे प्रश्न गर्न कम्पनिका संचालक दिनेश तामाङलाई पटक पटक सम्पर्क गर्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन ।