पोेखरा विमानस्थल निर्माण लागत : नेपालका पत्रकारले माफी माग्नुपर्ने चिनियाँ राजदुतको माग

दियोपोस्ट संवाददाता  

काठमाडौ । नेपालका लागि चिनियाँ राजदुत चेन सोङले नेपालका पत्रकारसँग माफीको माग गरेका छन् । पोखरा विमानस्थलको बारेमा भ्रम फैलाएको भन्दै राजदुत सोङले सामाजिक सञ्जाल एक्समार्फत टक्सार म्यागजिनका सम्पादक गजेन्द्र बुढाथोकीले सार्बजनिक रुपमै माफी दिनुपर्ने माग गरेका छन् ।

चिनियाँ दुत सोङले सामाजिक सञ्जाल एक्समा पोखरा विमानस्थलको दाबीमाथि आक्रोस पोख्दै लेखेका छन्, ‘यतिसम्मको खराब झुट त अहिलेसम्म देखेको थिइनँ । यो सार्बजनिक जानकारी हो, तैपनी विमानस्थलबारे यत्रो झुट दाबी गर्नुभयो’ विमानस्थलकै बारे अर्को पोष्टमा पत्रकार गजेन्द्र बुढाथोकी र अन्य व्यक्तिहरुले सार्बजनिक रुपमा माफीको माग गर्दै उनले लेखेका छन्, ‘तपाईले गरेको झुटो दाबीको लागि तपाई र तपाइले उल्लेख गरेका अरुले पनि हामीसँग माफी माग्नुपर्छ । तपाईसँग पर्याप्त प्रमाण छ भने प्रकाशन नै गर्नुस् । यदि तपाईसँग प्रमाण नै छैन र प्रमाणित गर्न समय लाग्छ भने कुन नियतले झुटो दाबी गर्नुभयो ? झुटमाथि झुट नफैलाइदिनुहोला ।’

पत्रकार एवम् टक्सार म्याग्जिनका सम्पादक बुढाथोकीले यहि मे २७ मा ‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ’ भन्दै एक्समा आफ्नो स्टाटस पोष्ट गरेका थिए ।

पोखरा विमान स्थल निर्माणको लागि नेपाल सरकारले चीनको एक्सिम बैंकसँग २१५. ९६ मिलियन अमेरिकी डलर अर्थात् २२ अर्ब बढि ऋण लिएको थियो । लामो समय लगाएर निर्माण गरिएको उक्त विमानस्थल २०२३ जनवरीमा उद्घाटन गरिएको थियो ।

पोखरा विमानस्थल निर्माणमा भएको खर्च शंकास्पद एवम् अस्वभाविक देखिएको भन्दै आलोचना समेत हुदै आएको छ ।