सगरमाथा आधार शिविरमा चीनको भुगोल र समय देखिएपछि…

दियोपोस्ट संवाददाता  

खुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथामा चिनियाँ समय देखिएको पाइएको छ । यति मात्र नभई सगरमाथाको आधार शिविरमा पुग्दा चीनको भुगोलमा पुगेको देखाउने गरेको पाइएको छ ।

ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस)मा सगरमाथाको चौथो आधार शिविर पुगेपछि स्वतह चिनियाँ भुगोल र चिनियाँ समय देखाउने गरेको भन्दै एक पर्वतारोहिले चिन्ता व्यक्त गरेका छन् । ७१ औं सगरमाथा दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयद्धारा आयोजित कार्यक्रममा बोल्दै पर्वतारोहि पासाङ टेन्डी शेर्पाले उक्त विषयमा चासो र चिन्ता व्यक्त गरेका हुन् ।

‘सगरमाथाको चौथो आधारशिविर पुग्दा आइफोन र घडिमा स्वतह(अटोमेटिकल्ली) टाइम र लोकेसन परिवर्तन भएर चीनको देखाउँछ । हामी नेपालको सगरमाथा चढेको होकी चीनको ?’ कार्यक्रममा बोल्दै उनले भनेका छन्, ‘हिमाली क्षेत्रमा समय परिवर्तन हुदा थप खतरा हुन्छ । किनकी समय हेरेरै त्यहाँको मौसम अनुमान गर्छौ र सोहिअनुसार आरोहणका लागि जाने गर्छौ । यसमा सरकारको ध्यान जाओस् ।’
सगरमाथा चीन र नेपालको सिमानामा पर्ने गर्छ भने दुवैतर्फबाट आरोहणका लागि खुला गरिन्छ । पर्वतारोहण र दुइ मुलुकको सीमाको सन्दर्भमा जिपिएसलाई महत्वपुर्ण मानिन्छ । पर्वतारोहण क्षेत्रमा देखा परेको यस्तोखाले त्रुटीलाई गम्भीरतापुर्वक हेरिनुपर्ने पर्वतारोहिको भनाई छ ।

सगरमाथा क्षेत्रमा देखिएको जिपिएस त्रुटीलाई मन्त्रालयले हालसम्म कुनैपनि प्रतिक्रिया जनाएको छैन । पर्वतारोहिले सामान्य गफगाफमा जिपिएसको विषय उठान गरेपनि हालसम्म सार्बजनिक रुपमा चासो व्यक्त गरिएको थिएन ।
नेपाल र चीनविच सीमा विवादको मुद्धा खासै नउठेपनि दक्षिणतर्फ भारतसँग भने पटकपटक सीमासम्बन्धी विवाद उठ्ने गरेको पाइन्छ ।