
काठमाडौँ । माइक्रोसफ्टका सह(संस्थापक) तथा संसारका सबैभन्दा धनी ब्यक्तिको रुपमा चिनिएका बिल गेट्स र नेपालका धनी ब्यक्ती चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीबीच सिङ्गापुरमा भेटवार्ता भएको छ । सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एसिया एलायन्स (पिएए-२०२५) को अवसरमा मङ्गलबार गेट्स र चौधरीबीच भेटवार्ता भएको हो ।
सांसद चौधरीले सोसियल मिडियामार्फत बिल गेट्स सँगको साइडलाइन मिटिङको तस्बिर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् ।
भेटका क्रममा दुवैबीचच नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूबारे गम्भीर छलफल भएको बताइएको छ । उक्त भेटमा विनोद चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा “बलियो नेपाल” अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे ।
उनले नेपालको सामाजिक क्षेत्रमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौँदेखिको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको जानकारी दिए ।
छलफलमा गेट्स फाउन्डेसनले विश्वका अन्य मुलुकहरूमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य र रोजगारी सम्बन्धी कार्यक्रमहरू नेपालमा पनि सञ्चालन गर्न र त्यसलाई सन्दर्भअनुसार विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।
२०७२ को भूकम्पपछि चौधरी ग्रुपको सामाजिक संस्था चौधरी फाउन्डेसनले तत्कालीन उद्धार तथा राहतका लागि सरकारको राहत कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग गर्नुका साथै भूकम्प प्रभावित जिल्लाहरूमा स्रोत–साधन प्रयोग गरेर करिब तीन हजार भूकम्प प्रतिरोधी अस्थायी आवास निर्माण गरेको थियो। साथै विद्यालय पुनर्निर्माण, खाद्यान्न र पिउने पानी वितरणमार्फत प्रभावित समुदायलाई राहत पुर्याएको थियो ।
कोभिड–१९ महामारीको समयमा पनि चौधरी फाउन्डेसनले नेपाल सरकारलाई स्वास्थ्य पूर्वाधार सुदृढ गर्न सहयोग पुर्याउँदै वीर अस्पतालमा अति सघन उपचार कक्ष (आइसियु) र अक्सिजन प्लान्ट तथा धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गरेको थियो । सात वटै प्रदेशमा अक्सिजन कन्सन्ट्रेटर, व्यक्तिगत सुरक्षा उपकरण (पिपि), पीसीआर परीक्षण किट र एन–९५ मास्क वितरण गरिएको थियो ।
बिल गेट्स, जसले विश्वकै ठुलो परोपकारी संस्था बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनमार्फत स्वास्थ्य, शिक्षा र प्रविधिका क्षेत्रमा थुप्रै विकासशील राष्ट्रहरूलाई सहयोग गर्दै आएका छन्, सिङ्गापुरमा भएको फिलान्थ्रपी एसिया एलायन्स-२०२५ सम्मेलनका प्रमुख आकर्षणमध्ये उनी एक हुन् ।