सरकारको ‘नीति तथा कार्यक्रम’ बहुमतले पारित

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सरकारको आर्थिक वर्ष २०८२ ०८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि जवाफ दिएपछि आगामी आर्थिक वर्षको नीति कार्यक्रम बहुमतले पारित भएको हो ।

बैठकले नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका ३७ सांसदहरूले पेस गरेको संशोधन बहुमतले अस्वीकृत गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलपछि निर्णयार्थ पेस गर्नुअघि सभामुख देवराज घिमिरेले संशोधनकर्ता सदस्यलाई फिर्ता लिन समय दिएका थिए । संशोधनकर्ताहरूले प्रस्ताव फिर्ता नलिने जानकारी गराएपछि संशोधन प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो ।

नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्ने सांसदहरू सुदन किराँती, जनार्दन शर्मा, डा.अमरेशकुमार सिंह, शक्तिबहादुर बस्नेत, वर्षमान पुन, रोशन कार्की, अमनलाल मोदी, माधव सापकोटा, पूर्णबहादुर घर्ती, प्रेम सुवाल, रणेन्द्र बराली, हितराज पाण्डे, लेखनाथ दाहाल, दुर्गा राई, रुपासोशी चौधरी,सुशीला श्रीपाली ठकुरी, उर्मिला माझी, चित्रबहादुर केसी, रामकुमार राई तथा नारायणी शर्मा रहेका थिए ।

त्यसैगरी लक्ष्मी तिवारी, विमला सुवेदी, गणेश पराजुली, ज्ञानु बस्नेत सुवेदी, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, मिना तामाङ, सुमना श्रेष्ठ, हितबहादुर तामाङ, सोविता गौतम,छिरिङ डम्डुल लामा (भोटे), मनिष झा, बिनिता कठायत, निशा डाँगी, सूर्यमान तामाङ (दोङ)ले पनि नीति तथा कार्यक्रममाथि राखेको संशोधन बहुमतले अस्वीकृत भएको थियो ।

त्यस्तै डा.चन्दा कार्की भण्डारी, शिशिर खनालको संशोधन प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको सभामुखदेवराज घिमिरेले सदनसमक्ष जानकारी गराएका थिए ।

सिफारिस