काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कार आरोपीलाई बचाउन खोजेको आरोप लागेको छ । बलात्कार आरोप लागेका नेकपा एमालेका नेता ऐन महरमाथि मुद्धा चलाउन अदालतले आदेश दिए प्रधानमन्त्री ओलीले बचाउन खोजेको पीडित भनिएकी रस्मिला धामीले आरोप लगाएकी हुन् ।
बुधबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पीडित भनिएकी धामीले सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनले समेत पीडकलाई उन्मिुक्ति दिने तयारी गरेको आरोप लगाइन् । गत २०८१ माघ ९ गते उच्च अदालत पाटनले आफ्नो पक्षमा फैसला दिए पनि महरको पक्षमा उच्च राजनीतिक संरक्षण तथा दबाबमा अदालतको आदेश कार्यान्वयन नभएको पीडित धामीले गुनासो गरिन् ।
मुद्धा अगाडि बढाई दोषीलाई कानूनी कारबाही गराउन आफूले रिट दायर गरेपछी अदालतले न्यायको आशा जगाएको भएतापनि पीडक भनिएका महर खुलेआम हिँडिरहेको भन्दै उनले रोष व्यक्त गरिन् ।
फैसला भएको ४ महिना वितिसक्दा पनि महरलाई पक्राउ नगरिएको बताउँदै धामीले भनिन्,“बलत्कारी ऐन महरलाई बाहिरैबाट अनुसन्धान गर्ने भन्दै सरकारी प्रशासनले पहुचको आधारमा आलटाल मात्रै गदैनन् कि गैरजिम्मेवार जवाफ दिने गरिरहनु भएको छ ।” “मैलै न्याय खोजिरहेको छु, के यस्तो अपराधमा पनि बाहिरै राखेर अनुसन्धान गर्न मिल्छ ?’ धामीले थपिन् ।
पछिल्लो समयमा राजनीतिक प्रतिशोधका आधारमा सामान्य व्यक्तिहरुलाई पनि अनावश्यक दुःख दिने गरेको तर आफूप्रति जघन्य अपराध गर्ने महरप्रति सरकारी शक्तिको आडमा आफूलाई न्याय पाउनबाट बञ्चित गरिएको धामीले बताइन् ।
पीडक भनिएका महरले आफ्नो जीवन बर्बाद गरेको धामीले आरोप लगाइन् । उनले न्यायका लागि जस्तोसुकै कदम चाल्न तयार भएकोसमेत बताइन् ।