धादिङ । जिल्लाको उत्तरी क्षेत्रमा गुण्डागर्दी र अपराध मौलाउँदो छ । केहीदिनअघि सुत्केरी महिलालाई उपचारका लागि खनियावास गाउँपालिका ४ दार्खास्थित स्वास्थ्यचौकीमा पुगेका दुई युवामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट विवस तामाङ गम्भिर घाइते भएको पाइएको छ ।
स्थानियबासीका अनुसार गत वैशाख २६ गते राती ११ बजेर ३५ मिनेटजाँदा विवसमाथि खुकुरी प्रहार भएको हो । यसअघि कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तानगरि आएका झ्याप्ले भन्ने अमर तामाङ, राम अकिल सिंह गुरुङ, सौजल गुरुङ र प्रविन कटुवालको समुहले खुकरी प्रहार गरेको स्थानियले बताएका छन् ।
‘जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दरखास्त आएको छ । हामीले घाउजाँच रिपोर्ट मगाएका छौँ,’ जिप्रका धादिङका प्रवक्ता प्रहरी नायब उपरिक्षक डिएसपी सुवास हमालले दियोपोस्टसँग भने,‘पीडितलाई पनि कार्यालयमा ल्याउनु भनेर हामीले घाइतेका बुवालाई भनेका छौँ ।’
यता पीडित घाइते भने काठमाडौंस्थित एक अस्पतालमा उपचारपछि घर फर्किएको पाइएको छ । घटनापछि पीडित परिवारले अभियुक्तहरु विरुद्ध किटानी जाहेरी समेत दिएपनि प्रहरीले त्यसलाई गम्भिरतापूर्वक अनुसन्धान नगरी पक्राउ नगरेको पीडित परिवारको गुनासो छ । यद्धपी डिएसपी हमाल भने आफूहरुले अनुसन्धान गरिरहेको र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि प्रहरी निरिक्षकको नेतृत्वमा कमाण्ड नै पठाउने तयारी रहेको बताए ।
स्थानियका अनुसार घटनामा संलग्न झ्याप्ले भन्ने अमर तामाङ यसअघि दुई वटा मुद्दामा कैद सजाय भोगेर बाहिर आएका व्यक्ति हुन् । उनलाई स्थानिय विजय तामाङको हत्या गरेको अभियोगमा ८ वर्ष र टिकाराम तामाङमाथि आक्रमण गरेको अभियोगमा कैद सजाय तोकिएको थियो । आक्रमणबाट घाइते तामाङको टाउकोमा गम्भिर चोट लागेको छ । घटनामा संलग्न अर्का अभियुक्त राम अकिल सिंह गुरुङ भने यसअघि काठमाडौंमै एक व्यक्तिमाथि खुकुरी प्रहार गरेको अभियोगमा सार्वजनिक मुद्दा खेपेका व्यक्ति हुन् ।
हत्या अपराध र बदलाभावको भूमि बनेको खनियाबास
धादिङको उत्तरी क्षेत्रमध्ये खनियाबास गाउँपालिकामा धेरै अपराधका घटना हुने गरेका छन् । २०६९ मंसिर १८ गते भिषण सिंखडासहितको समुहमा रहेका यो घटनामा समेत फरार रहेका अमर लामा समेतका व्यक्तिहरुले स्थानिय विजय तामाङको हत्या गरेका थिए । विजय समर्थित समुहले घटना भएको १२ घण्टा नबित्दै भिषण सिंखडाको अपहरणपछि हत्या गरेको थियो । यो घटना सार्वजनिक भएपछि धादिङको खनियाबासमा हत्याको बदला हत्याले लिने गरेको तथ्य बाहिर आएको थियो ।
भिषण हत्यापछि फरार रहेको समुहले नै सत्यदेवी गाविस ३ स्थित गंगालाल तामाङको हत्या गरेका थिए । २०६७ कार्तिक १ गते दार्खाकै स्थानिय एमाले नेता शिव थापाको हत्या भएको थियो । प्रहरीले घटनालाई समयमै अनुसन्धान गरी कारबाही गर्न नसक्दा यो क्षेत्रमा अपराधको घटना बढ्दो छ ।
घटनामा संलग्न अकिल सिंह राधे समुहका
घटनामा संलग्न रहेका अकिलसिंह गुरुङ राधाकृष्ण भण्डारी उर्फ राधे समुहका व्यक्ति भएको खुलेको छ । गुण्डागर्दी र विभिन्न अपराध मुद्दामा पक्राउ पर्दै छुट्दै आएका राधाकृष्ण भण्डारी उर्फ राधे अहिले तरुण दलमा सक्रिय छन् । उनले अभियुक्त अकिललाई शुभकामना दिँदै गरको तस्विर समेत भेटिएको छ ।
