
काठमाडौँ । उच्च अदालत पोखराले रास्वपा सभापति रवि लामिछाने जोडिएको जिल्ला अदालत कास्कीको आदेश खारेजीको मागसम्बन्धी निवेदनमाथिको सुनुवाइ हेर्दा हेर्दैमा राखेको छ । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले रविको मुद्धा हेर्दा हेर्दैमा राखेको हो ।
कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले गत २५ पुसमा लामिछानेलाई ६५ लाख धरौटी लिई तारेखमा छाड्न आदेश दिएको थियो ।
सो आदेश खारेजको माग गर्दै मुद्दाका दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दिएका थिए । लामिछानेले ६५ लाख धरौटी माग्ने आदेश खारेज गर्दै साधारण तारेखमा छाड्न तथा जिल्ला सरकारी वकिलको कार्यालय कास्की र जाहेरवालाहरूले धरौटीमा छाड्ने आदेश खारेज गरी पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका छन् ।