बैंकिङ कसुर ‘मुद्दामा प्रहरी नियन्त्रण’मा रहेका व्यक्ति ‘भगाइएको आरोप’

दियोपोस्ट संवाददाता  

काठमाडौं । बैंकिङ कसुर मुद्दामा प्रहरी नियन्त्रणमापरेका एक व्यक्ति महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट भगाइएको आरोप लागेको छ । पीडितहरुले दिएको जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएका अधिवक्ता समेत रहेका त्रिलोक बहादुर चन्दलाई प्रहरी हिरासतमा पुगेको केहीबेरमै छाडिएको पीडित परिवारको आरोप छ ।

आइतबार सर्वोच्च अदालत परिसरबाट पीडितहरुले नियन्त्रणमा लिई प्रहरीलाई बोलाएर पक्राउ पुर्जी समेत हातमा थमाई चन्दलाई सिंहदरबार बृत्तको प्रहरीको जिम्मा लगाइएको थियो । महानगरीय प्रहरी बृत्त सिंहदरबारका प्रमुख डिएसपी गंगाप्रसाद पौडेलले चन्दलाई नियन्त्रणमा लिएको स्विकार गरेपनि अदालतको पक्राउ पुर्जीबारे अनभिज्ञता प्रकट गरे । ‘सर्वोच्च अदालत परिसरमा दुई पक्षबीच विवाद भएको देखेपछि हामीले नियन्त्रणमा लिएका थियौँ ।

एउटा पक्षले पक्राउ पुर्जी देखाएको थियो । भने अर्को पक्षले अदालतमा म्याद तामेल भएको भएको पत्र देखाएको थियो । पक्राउ पुर्जी वास्तविक हो की होइन भन्ने विषयमा हामीले आज (सोमबार) अदालतमा बुझ्दै छौँ,’ उनले भने ।

चन्द विरुद्ध महानगरीय प्रहरी बृत्त थानकोटमा कमान सिंह पुनले बैंकिङ कसुर अभियोग लगाउँदै २०८१ साउन २७ गते जाहेरी दिएको संलग्न कागजातमा देखिन्छ । अधिवक्ता समेत रहेका चन्दले पुनलाई मुद्दा मिलाइदिन्छु भन्दै २० लाख रुपैयाँ लिएको पीडित परिवारको आरोप छ ।

‘६ लाख रुपैयाँ वकिल खर्च भनेर कटाउनु भयो । मुद्दा पनि हारियो । त्यसपछि उहाँले हामीलाई ७ लाख ३९ हजार रुपैयाँको चेक दिनु भएको थियो,’ पीडित परिवारले दियोपोस्टसँग भने,‘त्यसपछि उक्त चेक बाउन्स भएपछि जाहेरी दिएका हौँ । जिल्ला अदालत काठमाडौं चन्द विरुद्ध २०८१ मंसिर १६ गते पक्राउ अनुमति दिएको थियो ।

प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा चन्द विरुद्ध अभियोग पत्र समेत बुझाई सकेको छ । २०८१ माघ १० गते सरकारी वकिल कार्यालयले उनी विरुद्धको अभियोग पत्र अदालत बुझाएको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि अदालत हाजीर गराउनुपर्नेमा सो नगरी उन्मुक्ति दिएको पीडित परिवारको आरोप छ ।
यस विषयमा प्रतिक्रियाका लागि चन्दको मोबाइल नम्बरमा पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।