काठमाडौँ । नेपाली कांग्रेसको पदधिकारी बैठक सोमबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन् ।
सोमबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्नेगरी देउवाले पदाधिकारी बैठक बोलाएका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । बैठकमा गृहमन्त्री रमेश लेखकको विषयमा छलफल हुने र क्रियाशील सदस्यता नवीकरणबारे पनि छलफल हुने बताइएको छ । अख्तियारले छानबिन गरिरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएपछि नपाली कांग्रेसमा समेत पक्ष र विपक्षमा दुई धार खडा भएका छन् ।
बैठकमा क्रियाशील सदस्यता नवीकरणबारे क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले पार्टी पदाधिकारीलाई ब्रिफिङ गर्नेछन् । मुख्यसचिव पौडेलले महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे बैठकमा जानकारी गराउने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत ९सहसचिव० तीर्थराज भट्टराईलाई कार्यालयमा छापा मारेर नियन्त्रणमा लिएर उनका डिभाइस जफत गरेपछि शङ्काको सुई गृहमन्त्री लेखकसम्म पुगेको छ ।
यसबारे कांग्रेसका नेताहरूबिच लेखकले राजीनामा दिनुपर्ने र दिन नहुने भन्नेमा फरक फरक धारणा बाहिर आइसकेका छन् ।