रोशनीले लेखेको ‘सुसाइड’ नोट : ‘म त यस्तै भएँ बाबु, तिमी खुशी भएर बाँच्नु’

दियोपोस्ट संवाददाता

काठमाडौं । पूर्व सभामुख कृष्ण बहादुर महरालाई जर्वजस्ती करणीको आरोप लगाएकी रोशनी शाही एकाएक मृत फेला परे पछि घटना रहस्यमयी बनेको छ । रोशनी आइतबार भक्तपुरमा मृत फेला परेकी थिइन् ।

महरा प्रकरणदेखि नै रहस्यमयी पात्रका रुपमा चर्चामा आएकी उनको मृत्यु पनि यतिबेलासम्म रहस्यकै गर्भमा छ । तर उनले अमेरिकामा रहँदै आएका आफ्नो छोरालाई सम्बोधन गर्दै लेखेको २ वटा कागजमा पत्र लेखेकी छिन् । उक्त पत्रबाट उनले सुसाइड नै गरेकी हुन भन्ने अड्कल काट्न सकिन्छ ।

उनले आफ्नो एकमात्र छोरालाई लेखेको पत्रमा भनिएको छ, ‘खुशी भएर बाँच्नु बाबु, म त यस्तै भएँ ।’

उनले लेखेकी छिन्, ‘तिमी कुरा बुझ्ने छौ बाबु, तिम्रो भविष्यको लागि मैले केही गर्न सकेको छैन’, दुवै पानामा उनले छोराबाहेक अन्य प्रसंग केही लेखेकी छैनन् ।

महरा प्रकरणयता रोशनीको मानसिक स्वास्थ्यमा समस्या रहँदै आएको उनका श्रीमान चित्रजंग शाहीले प्रहरीलाई बताए । उनले कृष्ण बहादुर महरा आफ्नो अभिभावक रहेको र रोशनीको मानशिक स्वास्थ्य बिग्रिएका कारण महराले समस्या झेल्नु परेको बताए ।

उनले भने, ‘महरा सर हाम्रो अभिभावकजस्तो मान्छे । उहाँमाथि जे–जे भयो, सब मानसिक स्वास्थ्यको गडबडीले भएको थियो’, रोशनीको मानसिक स्वास्थ्य समस्याका कारण अनेकन पारिवारिक तथा सामाजिक समस्या झेल्नुपरेको चित्रजंगको भनाई छ ।

रोशनीका पति चित्रजंग एक गैरसरकारी संस्थाको जागिरे छन् । रोशनीको मृत्यु हुँदा उनी कामका शिलशिलामा विराटनगरमा थिए । दिउँसो १२ बजे प्रहरी घटनास्थलमा पुगेपछि रोशनीका पतिलाई प्रहरीले घटनाबारे अवगत गराएको थियो । खबर पाएको एकघण्टाभित्रै उनी जहाज चढेर काठमाडौं आएका थिए ।

चित्रजंगले प्रहरीसमक्ष दिएको बयान अनुसार रोशनीले पहिले पनि अत्यधिक औषधी सेवन गरी पटक–पटक आत्महत्या प्रयास गरेकी थिइन् । यही आधारमा प्रहरीले अत्यधिक औषधी सेवनबाट मृत्यु भएको अनुमान गरेको छ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अरु कुरा त्यहाँको रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरी बृत्त, थिमीका डीएसपी नवराज ढुंगानाको भनाइ छ ।