
बुटवल । बुटवलको होराइजन चोक नजिकै मिलिजुली पथमा एकै परिवारका तीन जनाको हत्या भएको छ । आज बिहान करिव ४ बजे तिर ३४ वर्षीया दीपा बस्यालसहित उनका दुई छोरीहरु- ४ वर्षीय हिमानी र ७ वर्षीय स्नेहाको हत्या भएको हो ।
तानसेन-१, पाल्पा घर भएकी दिपाका पूर्व पति सुजन कोइरालाले तीनै जनाको हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्कीका अनुसार दिपाले सुजनसंगको सम्बन्ध विच्छेदपछि नवलपरासीका शंकर ढकालसँग विवाह गरेकी थिइन् । हाल उनी बैदेशिक रोजगारीमा छन् ।
अघिल्लो दिन सुजनले दिपा र छोरीहरुलाई आफ्नै घरमा बोलाई बिहान ४ बजेतिर हथौडा र धारिलो हतियार प्रयोग गरेर मारेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रबक्त कार्कीले बताए ।
अभियुक्त कोइरालालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रबक्ता कार्कीको भनाई छ ।
प्रहरीका अनुसार अभियुक्त कोइरालाले आफ्नै दाजुको हत्या गरेको अभियोगमा ९ वर्ष कैद सजाय भुक्तान गरि केही वर्ष अघि संविधान दिवसको अवसरमा आम माफी पाएर छुटेका थिए ।
जेल मुक्त भएपछि मिलिजुली पथमा अवस्थित आफ्नै घरमा ब्यवशाय गरेर बसेको एक छिमेकीले बताए । बिहान भएपछि घटनाका बारेमा थाहा पाएर प्रहरीलाई खबर गरेको छिमेकीको भनाई छ । प्रत्यक्षदर्शीका अनुसार सुजनले दिपालाई फकाई-फुलाई अघिल्लो दिन घरमा बोलाएका थिए ।
तीनै जना मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले बताए । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

