
सभामुख घिमिरे–छलफल काठमाडौँ, १४ माघः आसन्न संसदको हिउँदे अधिवेशनको सन्दर्भमा सिंहदरबारस्थित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीसँग छलफल गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल÷रासस
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन्। सदनको अवरोध हटाउन र बजेटमाथि छलफलको समय निर्धारणका लागि छलफल गर्न सभामुख बैठक बोलाएका हुन् ।
शुक्रबार ११ बजे मुख्यसचेतक र प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सभामुख घिमिरेले शुक्रबार मध्याह्न १२ बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् ।
विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको भन्दै सदन अवरोध गर्दै आएका छन् । यद्यपि उनीहरूले गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठन नभएसम्म बजेट पेस गर्न दिए पनि अन्य काम–कारबाहीका लागि सदन चल्न नदिने बताउँदै आएका छन् ।